कुवेतमा विषादी मदिरा सेवन गर्दा ३५ नेपाली विरामी

Kuwait_City_banner

९ जनाको मृत्यु, उपचाररतको अवस्था चिन्ताजनक

कर्णाली वेभ्स
कुवेतमा ३५ नेपालीले विषादीयुक्त मदिरा सेवन गर्दा गम्भीर विरामी परेका छन्। तीमध्ये ९ जनाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले दूतावासलाई उक्त घटनाबारे यथार्थ जानकारी संकलन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको थियो। दूतावासले घटना भएको तीन दिनपछि पेस गरेको विवरणअनुसार, विषाक्त मदिरा सेवन गरेका श्रमिक मजदुरमध्ये ३५ जना गम्भीर विरामी भई अस्पताल भर्ना गरिएका थिए, जसमा हालसम्म ९ जनाको मृत्यु भएको मन्त्रालयलाई जानकारी गराइएको बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ।

नेपालीहरुले केही दिनअघि विषादीयुक्त मदिरा सेवन गरेपछि गम्भीर असर देखिएर अस्पताल भर्ना गरिएको दूतावासले जनाएको छ। उनीहरूमध्ये धेरैको अवस्था अझै पनि चिन्ताजनक रहेको र थप मृत्यु हुने सम्भावना रहेको दूतावासको भनाइ छ।

विरामी भएको जानकारी पाउने बित्तिकै दूतावासका अधिकारी तथा कर्मचारीहरू विभिन्न अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका थिए। दूतावासले श्रावण ३१ गते जारी गरेको विज्ञप्तिमा ३५ जना नेपाली विरामी परेको, केहीको मृत्यु भइसकेको र बाँकीको उपचार भइरहेको पुष्टि गरिएको छ। तर, विषादीयुक्त मदिरा उनीहरूले कहाँबाट कसरी ल्याएर सेवन गरे भन्नेबारे विज्ञप्तिमा खुलाइएको छैन।विज्ञप्तिमा सबै प्रभावित नेपाली मूलका रहेको स्पष्ट गरिएको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घरपरिवारलाई समवेदना प्रकट गरिएको छ। उपचाररतको शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि व्यक्त गरिएको छ। सोही विज्ञप्तीमा कुवेतस्थित दूतावासले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी उपचार प्रक्रिया अगाडि बढाएको र घातक वस्तु सेवन तथा खरिद–बिक्रीबाट सचेत रहन आग्रह गरिएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार यसै वर्ष मात्रै विषादीयुक्त मदिरा सेवनबाट १६० जना विरामी भएका छन्। गैरकानुनी रूपमा बिक्रि–वितरण हुँदै आएको यस्तो मदिरामा प्रायः मेथानोल मिसावट हुने गर्छ। सरकारले यसलाई प्रतिबन्ध लगाएको भए पनि बढी नशा दिने भएकाले सेवनकर्ता र विक्रेताहरूले लुकिछिपी कारोबार गर्ने गरेको पाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *