थाइल्यान्डकी प्रधानमन्त्री पदच्युत, शिनावात्रा वंशमा ठूलो धक्का

बैंकक

Purple Illustrated Art Class YouTube Channel Art (5)

थाइल्यान्डका संवैधानिक अदालतले प्रधानमन्त्री पाएटङ्टार्न शिनावात्रालाई पदमुक्त गरेपछि देशको राजनीति फेरि अस्थिरतामा धकेलिएको छ। यो कदमले थाइल्यान्डको सबैभन्दा शक्तिशाली राजनीतिक वंश ‘शिनावात्रा परिवार’मा ठूलो चोट पुर्‍याएको छ।

अदालतले जूनमा लीक भएको एक फोनकललाई आधार बनाएर उनलाई पदच्युत गरेको हो। उक्त कलमा पाएटङ्टार्नलाई क्याम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनलाई ‘काका’ भन्दै सम्बोधन गर्दै थाइ सेनाको आलोचना गरिरहेको सुन्न सकिन्छ। त्यो समयमा थाइल्यान्ड–क्याम्बोडिया सिमानामा तनाव बढिरहेको थियो। हुन सेनकै तर्फबाट सार्वजनिक गरिएको उक्त अडियोले पाएटङ्टार्नको छवि कमजोर बनाएको थियो। आलोचकहरूले उनलाई राष्ट्रिय सुरक्षाभन्दा बढी क्याम्बोडियाको पक्षमा उभिएको आरोप लगाए।

शुक्रबार ९ न्यायाधीशमध्ये ६ जनाले उनको विपक्षमा फैसला गर्दै उनीनैतिक मापदण्ड उल्लङ्घन गरेको ठहर गरे। अदालतले उनको कार्यले “जनतामा सन्देह उत्पन्न गराएको” भन्दै क्याम्बोडियाको हितलाई थाइल्यान्डको हितभन्दा अगाडि राखेको आशंका पैदा भएको बतायो। ३९ वर्षीया पाएटङ्टार्न २०२१ मा मात्रै फ्यु थाइ पार्टीमा प्रवेश गरेकी थिइन्। गत वर्षका प्रधानमन्त्री स्रेत्त थाभिसिनलाई पनि संवैधानिक अदालतले पदबाट हटाएको थियो। यसरी छोटो समयमै दुई प्रधानमन्त्री पदच्युत हुनु देशको राजनीतिक अस्थिरताको प्रमाण मानिएको छ।

उनी हटाइएकै घण्टाभित्र उनको अघिल्लो गठबन्धन सहयात्री, भुमजाइथाइ पार्टीले नयाँ सरकार बनाउन आवश्यक बहुमत प्राप्त गरेको घोषणा गर्‍यो। उक्त पार्टीले सिमाना विवाद समाधान गर्ने र चार महिनाभित्र संसद विघटन गर्ने प्राथमिकता तय गरेको छ। यो घटनाले शिनावात्रा परिवारको राजनीतिक शक्ति थप कमजोर बनाएको छ। उनका बुबा थाक्सिन शिनावात्रालाई २००६ मा सैनिक कुपले पदच्युत गरेको थियो भने उनकी काकी यिङलक शिनावात्रालाई पनि २०१४ मा संवैधानिक अदालतले पदबाट हटाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *