जेन जी आन्दोलनकाे नाममा विदेशी हस्तक्षेप रहेकाे विश्लेषण

Black and Blue Gradient Man Facebook Profile Picture (9)

- नरेन्द्रनाथ योगी

जेन जी आन्दोलन शासक वर्गका अहंकारका परिणाम
१३ देखि २८ वर्षका उमेर समूहका युवापुस्ताले जेन जीका नाममा नेपालमा १७ र १८ घण्टा (भाद्र २३ र २४ गते) गरेको आन्दोलनपछि नेपालमा नयाँ बहस सुरु भएको छ। यो आन्दोलनले यस्तो बहस सुरु गराउँछ भन्ने कल्पना कसैले पनि गरेका थिएनन्।

सरकारका नेतृत्व गरिरहेका केपी ओलीले सामाजिक सञ्जाल विकल्पविना बन्द गरेपछि डिजिटल र स्मार्टफोनलगायत इलेक्ट्रोनिक प्रयोगकर्तामा, त्यसैबाट अध्ययन तथा व्यवसाय गर्नेहरूमा ठूलो समस्या उत्पन्न भयो। युवापुस्तालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धमा असर पुग्यो। उनीहरूको शैक्षिक विकास र उन्नतिमा अवरोध भयो।

सामाजिक सञ्जाल तत्काल खोल्न र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै युवाहरू आन्दोलनमा उत्रिएका थिए। उनीहरूको प्रदर्शन काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भई शान्तिपूर्ण रूपमा बानेश्वरस्थित संसद भवनसम्म पुगेको थियो।

यदि सरकारले उनीहरूको मागलाई बुझेर समयमा फुकुवा गरेको भए मुलुकले आज ७४ जनाको विभत्स हत्या र १५ खर्बभन्दा बढी सार्वजनिक सम्पत्तिको क्षति व्यहोर्नु पर्ने थिएन।

राज्य सञ्चालनमा संलग्नहरूको अहंकार, दम्भ र घमण्डकै कारण मुलुकले भयावह अवस्था वेहोर्नु परेको छ। यसको सम्पूर्ण जिम्मा असफल सरकार सञ्चालक अर्थात् शासकहरूले लिनै पर्छ।

जेन जी आन्दोलनको प्रारम्भिक माग सामाजिक सञ्जाल फुकुवा र भ्रष्टाचारीमाथि कारबाही थियो। तर, २०८२ भाद्र २३ गते भएको विभत्स हत्या पछि आन्दोलनका मागहरू अचानक थपिए। जसमा संसद विघटन, सात प्रदेशसहित स्थानीय निकाय खारेज, र जेन जीको नेतृत्वमा नयाँ सरकार गठन जस्ता मुद्दा सामेल भए। यो कसरी भयो र यसको कारण के हो भन्ने विषयमा तल संक्षेपमा विश्लेषण गरिएको छः

जेन जी आन्दोलनका कारण

१. चरम राज्य सम्पत्ति दोहन र असन्तुष्टि
२०४६/४७ यता प्रजातन्त्र र लोकतन्त्रको नाममा दलका नेता तथा कार्यकर्ताले राष्ट्रको सम्पत्तिको चरम दोहन र शक्ति, सत्ताको दुरुपयोग गरे। यसकै कारण व्यापक असन्तुष्टि बढ्दै गयो।

२. सरकारद्वारा विकल्पविना सामाजिक सञ्जाल बन्द
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विकल्पविना सात दिने सूचना जारी गरेर सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्‍यो। यसले सञ्चारकर्मी, विपक्षी दल, स्वतन्त्र व्यक्ति विशेष गरी युवापुस्तामा व्यापक विरोध गरायो। यस निर्णयले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सामाजिक सम्पर्क, सूचना आदानप्रदानको अधिकार हनन भयो। संविधान र लोकतन्त्रको उल्लंघन भयो। यस निर्णयविरुद्ध स्वदेश तथा विदेश दुवैबाट विरोध भयो। तर, सरकार आम उपभोक्तालाई विश्वास दिलाउन असफल रह्यो। जसका कारण विरोध तीव्र हुँदै गयो। यो विरोधले सरकार र दलको दीर्घकालीन रवैया तथा कुशासनका विरुद्ध जेन जीका नाममा अन्य शक्तिलाई चलखेल गर्न अनुकूल वातावरण बनायो।

सरकारको अदूरदर्शिता र अहंकार

भाद्र २३, २०८२ मा बन्द सामाजिक सञ्जाल र भ्रष्टाचारीमाथि कारबाहीको माग राख्दै जेन जीहरूले माइतीघर मण्डलाबाट शान्तिपूर्ण जुलुस सुरु गरे। तर, मास्क र हेलमेट लगाएका केही व्यक्तिहरू जुलुसमा घुसेर संसद भवनमा प्रवेश गरे। उनीहरूले ढुंगा मुढा गर्न थाले र पर्खाल भत्काए।

त्यसपछि काठमाडौंका प्रमुख जिल्ला अधिकृतको आदेशमा प्रहरी तथा घुसपैठीयहरूले अन्धाधुन्ध गोली चलाए। यस क्रममा छातीमै लक्ष्य गरी गोली प्रहार गरिँदा १९ जनाको विभत्स हत्या भयो र करिब १५० जना घाइते भए।

यस घटनाले देशव्यापी आक्रोश फैलियो। अभिभावक, दाजुभाइ, दिदीबहिनी सबै आक्रोशित भए र २४ गते बिहान सडकमा आउन बाध्य भए।

यदि सरकारले २३ गते साँझ वा २४ गते बिहान आन्दोलनकारीलाई वार्तामा बोलाएर मृतकहरूको व्यवस्थापन गर्ने निर्णय गरेको भए आक्रोश कम हुन सक्थ्यो र ठूलो क्षति हुने थिएन।

तर, सरकारको अदूरदर्शी र अहंकारी व्यवहारले आन्दोलन चर्कियो। अनुमान अनुसार सार्वजनिक सम्पत्तिमा १२ देखि १५ खर्बसम्मको क्षति भयो।

सर्वोच्च अदालत, मालपोत, जिल्ला अदालत, नापी, पालिका लगायतका जनसरोकारका कार्यालय जल्दा सेवाग्राहीहरूलाई ठुलो समस्या भयो।

घुसपैठीयाहरूको चलखेल

२३ गते भएको १९ जनाको हत्या र दमनपछि युवापुस्तादेखि आम जनता आक्रोशित भए। यसले २४ गतेको प्रदर्शनमा घुसपैठीयाहरूलाई आन्दोलन चर्काउन अनुकूल वातावरण बनायो।

२४ गतेको प्रदर्शनमा शान्ति सुरक्षामा नेपाल प्रहरी र नेपाली सेनाको भूमिका कमजोर रह्यो।

भद्रकालीबाट निस्केको करिब ६ हजार मोटरसाइकलको र्‍यालीलाई रोक्न नसक्दा उनीहरू संसद भवनभित्र पस्न सफल भए र त्यहाँ आगजनी भयो।

योजनाबद्ध रूपमा सर्वोच्च अदालत, सिंहदरबारलगायतका सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरियो।

विशेषगरी भाद्र २४ गतेको प्रदर्शनमा विभिन्न दलका कार्यकर्ता, विदेशी शक्तिबाट परिचालित समूह र व्यक्तिहरूको ठूलो हात रहेको विश्लेषण गरिएको छ।

जेन जी आन्दोलनमा विदेशी शक्तिको हात

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर ख्वप कलेजमा आयोजित कार्यक्रममा जेन जी आन्दोलनमा अमेरिकाको सिआईए र भारतको हात रहेको आरोप लगाए। उनले सिंहदरबारमा आगजनी सेनाले गरेको दाबी पनि गरे।

विश्लेषक तथा पत्रकार प्रेम कैदीले पनि त्यस्तै अभिव्यक्ति दिएका छन्। केहीले पश्चिमाहरूको हात रहेको बताएका छन्।

अमेरिकी पूर्व-मरीन ब्रायन बर्लेटिक, जो हाल थाइल्यान्डमा बसेर युरोप तथा एशियाको भू-राजनीतिक विषयमा लेख्छन्, उनले २०८२ असोज ३ गते सामाजिक सञ्जालमा लेखेका अनुसार अमेरिकाले नेपाल केन्द्रित विभिन्न संस्थामा लगानी गरेको छ।

ती संस्थामा कम्युनिटी टू प्रोजेक्ट जर्नालिस्ट, नेपाल पत्रकार महासंघ, फ्रिडम फोरम नेपाल, एकाउन्टेबिलिटी ल्याब, चाइल्ड सेफ नेट, लिगल एण्ड कन्सल्टेन्सी सेन्टर, हामी नेपाल, डिस्कोर्ड लगायतका संस्थाहरू पर्दछन्।

त्यसका साथै सिआईएबाट सञ्चालित नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी लगायत चीनविरोधी शक्तिहरू पनि सक्रिय रहेको उल्लेख गरिएको छ।

डा. विजय मिश्राले पनि सामाजिक सञ्जालमार्फत जेन जी आन्दोलनमा विदेशी शक्ति र सिआईएको घुसपैठ रहेको दाबी गरेका छन्।

युगदर्शन पत्रिकाले २०८२ भाद्र २८ गते प्रकाशित समाचारमा काठमाडौं महानगरपालिका मेयर बालेन शाहको आन्तरिक सहयोग रहेको उल्लेख गरेको छ।

समाचारमा अमेरिकी दूतावासको विशेष तालिम र योजनामा सिंहदरबार र सर्वोच्च अदालत जलाइएको दाबी गरिएको छ।

अमेरिकी दूतावासले संविधान निर्माणका समयमा कलेजहरूमा भातृसंगठनका रूपमा अमेरिकी युथ काउन्सिलमार्फत सदस्यता वितरण गरी ९० हजारभन्दा बढी सदस्य बनाएको समाचारमा उल्लेख छ।

यसै पत्रिकाका अनुसार सिआईएद्वारा सञ्चालित बारबारा फाउण्डेशनमार्फत परिचालित सुदन गुरुङ र बालेन शाह जेन जी आन्दोलनमा सक्रिय थिए।

त्यस्तै, भारतीय नवभारत टाइम्सले पनि जेन जी आन्दोलन सफल भएमा ठूलो लगानी भएको समाचार लेखेको छ।

जेन जी आन्दोलनका सकारात्मक र नकारात्मक पक्ष

सकारात्मक पक्ष

  • सामाजिक सञ्जाल फुकुवा
  • भ्रष्टाचारीविरुद्ध कारबाही र छानबिन समिति गठन
  • अहंकार, स्वेच्छाचारिता, निरंकुशता र अधिनायकवादलाई चुनौती
  • शासक वर्गलाई लोकतान्त्रिक हुन दबाब
  • शासकीय स्वरूप परिवर्तनबारे बहस
  • राज्य संरचनामा संक्षेपिकरणबारे बहस
  • दल र सरकारमा पुस्तान्तरणको सुरुआत
  • अनैतिक र गैरकानुनी कार्यमा नियन्त्रण
  • संविधान संशोधन, सुधार वा पुनः लेखनबारे बहस
  • राज्य संरचनामा पारदर्शिताको खोजी
  • अन्यायविरुद्ध उठ्ने आवाजको सम्मान
  • दण्डहीनताको अन्त्य गर्ने प्रयास
  • सुशासन र कानुनी शासन कायम गर्ने वातावरण

नकारात्मक पक्ष

  • निर्दोष व्यक्तिहरूको विभत्स हत्या
  • विदेशी शक्तिहरुको हस्तक्षेप
  • सार्वजनिक सम्पत्तिमा ठूलो क्षति
  • संवैधानिक संकट र व्यवस्थापनमा अन्योल
  • जेन जी पुस्ताभन्दा बाहिरका व्यक्तिको सरकारमा प्रतिनिधित्व
  • अराजकताको वृद्धि
  • जनसरोकारका कार्यालय जल्दा सेवाग्राही प्रभावित

धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *