- जे. एस. धिताल
साँचो कुरा यही हो, उनले कुनै जात, धर्म, लिङ्ग, विभेद, छुवाछूतको कुरा नै गरेनन्, मात्र जुम्लाको भूगोल र रमणीय ठाउँहरूको सुन्दर वर्णन गरिदिए। गौरवका साथ खुसी व्यक्त गर्नु पर्ने मुख्य कुरा—उनी स्वदेशी तथा विदेशी मानिसहरू माझ जुम्लालाई चिनाउन सफल भए। हाम्रो पाहुना भएर आएकोमा न्यानो स्वागत र हार्दिक धन्यवाद सबै जुम्लाबासीको तर्फबाट!
देशको राज्यसत्ता परिवर्तनमा उनको कुनै भूमिका थिएन, न त उनले कसैलाई खोजी र मार गर्न भनेका थिए। उनी त त्यसबेला केवल एउटा अबोध बालक मात्र थिए। पूर्वराजाको परिवारमा जन्मेका आधारमा गाली गर्नु कदापि राम्रो होइन। तर, यतिबेला उनी जवान भइसकेका छन्। उनको पारिवारिक पृष्ठभूमि वा नेपालको राजतन्त्रको इतिहासमा, अढाइ वर्षको उमेरमा उनी राष्ट्रप्रमुख बनेको ऐतिहासिक तथ्य छ। तुलनात्मक रूपमा अहिले उनी शारीरिक, मानसिक, संवेदनात्मक र बौद्धिक रूपमा परिपक्व देखिन्छन्।
जीवन र जगतलाई आफ्नो ढंगले बुझ्ने, इतिहासको भौतिकवादी दृष्टिले व्याख्या, विश्लेषण र संश्लेषण गर्ने क्षमता हुन सक्छ वा नहुन सक्छ। तर हिजो उनका जिजुबाजेहरूबाट शोषित र शासित जनताहरू द्वन्द्वात्मक भौतिकवादी ढंगले सोच्न बाध्य छन्। उनका अग्रज सत्तामा हुँदा "मलाई काठमाडौंको जनता मात्र भए पुग्छ" भन्ने अभिव्यक्ति प्रत्यक्ष सुन्ने जुम्लीहरू अझै जीवित छन्। उनका बाबा राजधानीलाई नै देश ठान्थे—नसा र मदिरामा लट्ठ, गाँजा तान्ने, केटी फेर्दै हिँड्ने। छोरा चाहिँ राज्यकै दुर्गम र पिछडिएको बस्तीमा आएर, एकछिन भए पनि घैंटी र बेल्चा हान्ने—कता हो कता, यो अहिलेको लोकप्रियतावादी सोच र दृष्टिकोण अनुसार डाटापुँजीवादको प्रयोग हो, टिकटक, युट्युब लगायत सामाजिक सञ्जालमा भाइरल हुन खोजिएको मात्र हो कि, बाबाको गलत अभिव्यक्तिप्रति माफी माग्न, वा सस्तो लोकप्रियता देखाएर उनै जीवित सत्ताच्युत बाउबाजेको इसारामा गुमेको स्वर्गको विरासत फर्काउन खोजिएको प्रयास हो?
तमाम गणतन्त्रवादी र लोकतान्त्रिक नायकहरू जसले उनका बाबु-बाजेसँग व्यवस्था बदल्न टाउकोमा कफन बाँधेर जनयुद्धमा होमिएका थिए, थुप्रै मारिए, बेपत्ता भए, केही जीवित पनि छन्, धेरै घाइते अपांग छन्। तिनीहरूका अनुसार अहिले देशभर दक्षिणपन्थी विचलनवादी हावा चलिरहेको छ—झूटको खेती र भ्रमको व्यापार मौलाएको छ। त्यसमा पनि जुम्ला इपिसेन्टर नै बन्न पुगेको छ। हिजो त्यतिबेला मातृशिशु मृत्युदर उच्च थियो। सबै आमाहरू घरमै, अझ भनौं गाईगोठमै सुत्केरी हुन्थे। त्यसबेला मानिसहरूसँग गाई, भैंसी, भेडा, बाख्राजत्तिकै पनि सुविधा थिएन। जतिबेला उनका जिजुबाजेहरूलाई जुम्लाको याद आएन! तिनको नजरमा जुम्ला सधैं उत्पीडनमै रह्यो। अहिले प्रतिकूल समयमा जुम्ला र जुम्ली किन प्रिय भए?
बाजे आउनै पर्ने, आमा आउनै पर्ने, छोरो नाति आउनै पर्ने, लावालश्कर आफैंसँग ल्याउनै पर्ने, गीत गाउनै पर्ने, नाच्नै पर्ने? एउटा दार्शनिकको भनाइ छ—"झुपडीबाट दर्शनको सुरुआत हुन्छ र भोकानाङ्गाहरूबाट क्रान्ति हुन्छ।" यही दर्शनको प्रयोग जुम्लामा गर्न खोजिएको बुझाइ आम गणतन्त्रवादी वामपन्थी बुद्धिजीवीहरूको छ। तर, इतिहासका पाना पल्टाउँदा देखिन्छ—जुम्लाले भाषा, संस्कृति, संस्कार र शिक्षा विश्वलाई दिएको छ। उत्पादनको हिसाबले जुम्लाको खेतमा उम्रिने मार्सीधान पुराना शासकहरूले हुलाकमार्फत मगाएर काठमाडौंमा जीविकोपार्जन गर्थे। बारिमा स्याउ, सिमी, ओखर, आरु, वनजंगलमा गुच्छी च्याउ तथा बहुमूल्य जडीबुटी र हिमालमा जीवनबुटी यार्सागुम्बा पाइन्छ। यी चीजहरू गणतन्त्र स्थापनासँगै उम्रिएका होइनन्। तिनको प्रचार सामन्ती शासनकालमा किन भएन?
जुम्ली गरिब कहिल्यै थिएनन्। औद्योगिक उत्पादनको अभाव र कृत्रिम भोकले ग्रस्त बनाएर, देश–विदेशसम्म जुम्ली फोहरी र गरिब हुन्छन् भन्ने दुश्प्रचार फैलाउने सत्ताच्युत सामन्त वर्ग उनकै पुर्खाहरू थिए। हरेक दुई व्यक्तिमा एउटालाई मानिस, अर्कोलाई जुम्लीको नाममा दोस्रो दर्जाको नागरिक बनाउने काम पनि तिनैले गरेका थिए।
किनभने सिंजाले काठमाडौं आक्रमण गरेको थियो। तत्कालीन नेपाल—हालको उपत्यका—लाई सिंजा राज्यमा एकीकरण गर्न खोजेको थियो। युद्धधर्म विपरीत, बडादशैंको बेला खस सेनाहरूलाई चाडपर्व मनाउन घरबिदा दिइएको मौका छोपी सिंजा राज्यमा आक्रमण गरिएको थियो। प्रतिक्रान्तिको डरले राज्यभरिका १० वर्षमाथिका सम्पूर्ण पुरुषहरूको टाउको काटिएको थियो। सिंजा उपत्यकालाई नरमुन्ड र रक्ततल बनाइएको थियो। हिमा नदी महिनौंसम्म मानव रक्तको बाहिनी बन्यो।
इतिहासलाई भौतिकवादी ढंगले अध्ययन, अनुसन्धान, व्याख्या र विश्लेषण गर्ने हो भने, प्रताप सिंह शाहको शासनकाल र बहादुर शाहको नायबीकालमा शिबनारायण खत्रीको नेतृत्वमा वि.सं. १८४७ मा खटाइएको गोर्खाली फौजले सिंजा राज्यमा क्रूर नरसंहार मात्र गरेन, राज्यभरिका अधिकांश मानिसहरूको वंशविनाश गर्यो। महिलाहरूलाई शारीरिक तथा मानसिक रूपमा बिछिप्त बनायो। कतिपय जीवित भएर पनि आत्मदाह गर्न बाध्य भए। लालाबालाको बिचल्ली भयो। सिंजा सभ्यता र संस्कृतिको नाश भयो।
सिंजाका कुशल कालिगढहरूलाई बन्दी बनाएर काठमाडौं सजाइएको थियो। इतिहास सधैं जित्नेको हुन्छ, हार्नेको अस्तित्व नामेट हुन्छ। कालान्तरमा जुम्लालाई दुर्गम, जुम्लीलाई फोहरी, अशिक्षित, असंस्कारी आदि भनी भ्रम फैलाइयो। सिंजा राज्य बलियो थियो—शाहवंशका लागि चुनौती थियो। त्यसैले छलकपटले कब्जा गरियो।
आजको वर्तमानमा राजनीतिक दलहरूको अलोकप्रियता र जनतामा उत्पन्न निराशाका कारण बहुसंख्यक जुम्ली जनताले गणतन्त्रवादी राजनीतिक दलहरूको बहिष्कार गरेका हुन्। तर यसको अर्थ यो ठाउँबाट प्रतिक्रान्तिको सम्भावना छ भन्ने होइन।
हिजोका दिनमा उनीहरूले आफूलाई विष्णु अवतार घोषणा गरेका थिए। जनतालाई रैती बनाएर कर लिएको थियो। "रानी देखे पाप, बाहुनी छोए पाप" भनेर लैंगिक र वर्गीय विभेद सिर्जना गरिएको थियो। जातीय विभेद र छुवाछूतको निरन्तरता तिनैले दिएका थिए। जुम्लीहरूलाई राजापुर र ताउलाखरको नुन बोकेर भोट–मधेस पुग्न बाध्य पारिएको थियो।
औषधि, उपचार र खाद्यान्नको अभाव थियो। शिक्षाको अवस्था निकै नाजुक थियो, विशेष गरी महिलाहरू पूर्णतः निरक्षर। महिला सशक्तीकरणको अभ्यास थिएन। हाम्री आमा, दिदी, बहिनीहरू चुलोचौकोमा सीमित थिए—थिचोमिचो र उत्पीडनमा। बहुविवाह, बालविवाह, बलात्कार र यौनशोषणबाट समाज आक्रान्त थियो। कानून थिएन—सामन्तको हुकुम चल्थ्यो।
अड्डा–अदालतमा जनताको पहुँच थिएन। जुम्लीहरू हटारूका रूपमा एकसरो कपडा फेर्न भारतका गल्ली–गल्ली, कालापहाड पुग्नुपर्थ्यो। महिनौं–दर्जनौं दिनसम्म भारी बोकी हिँड्नुपर्थ्यो। यातायात र सञ्चार शून्य थियो। गाउँमा पढेलेखेका मानिसहरूको संख्या न्यून थियो। अधिकांश जुम्लीका सन्तान सरकारी नोकरीमा थिएनन्। गाउँमा पैसा थिएन। तिनकै बाउबाजेको फोटो भएको नोट कहिलेकाहीं सामन्त वा मुखियाका घरमा मात्र देखिन्थ्यो। जनतामा क्रयशक्ति थिएन। विलासिताका वस्तु सामन्तहरूको पहिरनमा मात्र देखिन्थ्यो। सुन सस्तो थियो, तर नुन अत्यन्त महँगो—तीन भाग मार्सी चामलसँग एक भाग नुन साटिन्थ्यो।
त्यही नुन, तेल र लुगाफाटाको जोहो गर्न सिंगो सिंजा मुग्लान—हालको पूर्वदेखि पश्चिमका तराई भेगसम्म—(भारत) हाट जानुपर्थ्यो। अपांग, वृद्ध र असक्त बाहेक सारा गाउँ मंसिरदेखि चैत्रसम्म जवानविहीन हुन्थ्यो। गाउँमा सामन्त र मुखियाको चल्थ्यो। कोही बिरामी वा सुत्केरी भए मर्ने–बाँच्ने दैवको खेल ठानिन्थ्यो। बाबु आमाका मृत्यु–जन्मका खबर चैत्रमा मात्र थाहा हुन्थ्यो। हिउँदमा मरेको लास महिलाले डोकोमा हालेर खोलामा फाल्थे। बाबुले मुग्लानबाट चिठी लेख्थे, तर त्यो पढ्ने मान्छे भेटिन्थेन। बाबाको चिठी पढेर आमाले "फागुन मसान्तसम्म आउँछु" सुन्दा खुशि हुन्थ्यो, हामी रमाउँथ्यौं।
साउन पुनिको मेलामा नयाँ कपडा लगाएर जान पाइने कल्पना गथ्र्यौं। त्यसबेला नै बीउको साथमा ज्युको तुलना हुन्थ्यो—चैत १२ गते मार्सीको बीउ राख्दा बाबु नआए काज–किरिया गर्नुपर्थ्यो। बाटो लामो, भारीसँगै सपना बोकेर हिँड्नुपर्थ्यो। कुटिन्थ्यो, चुटिन्थ्यो, लुटिन्थ्यो, मारिन्थ्यो। आजको जीवित पुस्ता त्यो इतिहासको साक्षी हो। पंचमण्डले शासन, जनआन्दोलन १ र २, जनयुद्ध पार गरेर आएको हो। जुम्ली जनताका नरकीय पीडाहरू थिए—त्यसमा न त राज्यको साथ थियो, न त राजाको नै। युगौँदेखिका दु:ख, पीडा र बन्चित अवस्थाहरूको स्मृति आजसम्म पनि ताजा भएकाले सत्ताच्युत सामन्त वर्गको छायासमेत जुम्ली जनताका लागि प्रतिक्रान्तिको प्रतीक हो।
मनमा पुरानै सामन्ती सोच वा दृष्टिकोण बोकेर बाँचिरहेका, बिर्ता पाएका, तिनकै नामबाट रोजीरोटी चलाउने दराखोलाका छोटे सामन्त र मुखियाका सन्तानहरूले पूर्वराजाको परिवारको चर्चा गर्नु, उच्च प्राथमिकता दिनु वा विष्णु अवतार मानेर पूजा गर्नु स्वाभाविक हो।
तर लोकतन्त्रको मर्म भनेको सबैको विचारको सम्मान गर्नु हो—यही नै गणतन्त्र हो।
