नरेन्द्रनाथ योगी
मुलुकको अवस्था :
नेपाल एक विकासोन्मुख देश हो। यसले गरिबीको ७औं स्थान कटाउन थालेको छ। यसको कुल भूभागमध्ये तराईमा १७ प्रतिशत पर्दछ। तराईले ५०.२ प्रतिशत उत्पादन ओगटेको छ। नेपालमा हिमाल, पहाड, तराई, मध्यम पहाड, मध्यम तराई आदिमा बढीमा २० प्रतिशत मात्र कृषि खेती हुन्छ। अरु सबै भूभाग उच्च हिमाली, मध्य र शिवालिक पहाडले ८० देखि ८३ प्रतिशत ओगटेको छ। नेपालमा ९३ प्रतिशत मानिस खेतीमा लागेका छन्, तर उत्पादन २० प्रतिशत मात्र हुन्छ। ८० प्रतिशत उत्पादन निर्यात हुन्छ। नेपालको कृषि उत्पादन ऋणात्मक छ, घनात्मक छैन। आधुनिक खेती वा उत्पादन एकदम कम छ। उत्पादनका दृष्टिकोणले नेपालको भूभाग १७—१९ प्रतिशत मात्र देखिन्छ। झण्डै ७९—८० प्रतिशत भूभाग आत्म–निर्भरमुखी कृषि उत्पादनमा निर्भर छ। नेपालको कृषि उत्पादन निर्वाहमुखी प्रणालीमा आधारित छ। अनि नेपालमा ८३ प्रतिशतभन्दा बढी जनता कृषिमा आश्रित छन्, तर पनि नेपाल विकासोन्मुख मुलुकभित्रै पर्छ।
अर्थतन्त्रमा नेपाल पछि पर्नुका केही कारणहरू :
१) वैज्ञानिक (आधुनिक) खेती प्रणालीको विकास गर्न नसक्नु।
२) कृषि प्रणालीमा परम्परावादी सोचमा कृषकहरूको विश्वास रहिरहनु।
३) कृषिलाई औद्योगिकीकरण गर्न नसक्नु।
४) अनुदान–मुखी लगानीमा भर पर्नु।
५) लगानीमैत्री वातावरण नबन्नु।
६) उत्पादनअनुसार बजारको अभाव हुनु।
७) श्रमको उचित मूल्य नहुनु।
८) श्रमिक वर्गको सम्मान नहुनु।
९) श्रम वा उत्पादनमा विचौलियाकरण हुनु।
१०) राज्यको लगानी उत्पादक भन्दा अनुत्पादक क्षेत्रमा हुनु।
११) उत्पादित वस्तुको मूल्य निश्चित नहुनु।
१२) श्रमिकहरूको वर्गीकरण नगरिनु।
१३) भू–भागको उचित वर्गीकरण हुन नसक्नु।
१४) आत्मनिर्भर भन्दा परनिर्भर मानसिकताको विकास हुनु।
१५) राज्यको पूर्वाधार परनिर्भर मानसिकतामा गुज्रिरहनु।
१६) वैदेशिक लगानीको चरम दुरुपयोग हुनु।
१७) उत्पादित वस्तुहरूको महत्वमा ध्यान नदिनु।
१८) भ्रष्टाचार र अनियमितता नियन्त्रण नहुनु।
१९) उपलब्ध प्रचुर प्राकृतिक स्रोत–साधन (वन, जंगल, जल तथा खनिज साधन आदि) समयोचित र क्षेत्रगत उपयोग गर्न नसक्नु।
२०) आयात भन्दा निर्यातमुखी अर्थतन्त्रमा भर पर्नु।
२१) आय–आर्जनका पुराना संरचनाहरूको संरक्षण भन्दा दोहन बढ्नु।
२२) मुद्राको मूल्य न्यून हुनु।
२३) रोजगारीको सिर्जना नगर्नु।
२४) दक्षिणको खुला सिमानाको नियन्त्रण नगर्नु।
२५) सरकार वा सत्तामा टिकिरहन शक्ति केन्द्र निर्माणमा लाग्नु।
२६) क्षमता, बुद्धि, विवेक, सीप र योग्यता आदि को कदर नगरिनु।
२७) दलका नेता तथा कार्यकर्ताहरू उपयोगितावाद र निहित स्वार्थमा लिप्त हुनु।
२८) राज्य शक्ति विचौलियाको हातमा जानु।
२९) राष्ट्र वा देशको विकास र समृद्धिका लागि मास्टरप्लान बनाउन नसक्नु।
३०) वैज्ञानिक र व्यवहारिक शिक्षाको अभाव हुनु।
३१) पलायनवादी तथा सुविधाभोगी शिक्षाले हरेक व्यक्तिमा आकांक्षा बढ्नु आदि विविध कारणहरू।
नेपालको अर्थव्यवस्था वा अर्थतन्त्र कमजोर भएको छ। माथि उल्लेखित कारणहरू पहिल्याई दिगो व्यवस्थापनमा नलाग्दासम्म नेपाल उभो लाग्ने देखिँदैन। त्यसैले नेपालको अर्थतन्त्र बलियो बनाउन हो भने नेपालका विद्वत् क्षेत्रका विविध क्षमता, विज्ञता, योग्यता, अनुभव, सीप, व्यवहारलाई राज्यले भाग–भागमा उपयोग गर्ने रणनीति बनाउनै पर्छ। विद्वता, विज्ञता, क्षमता, योग्यता र सीपलाई पलायन वा परमुखी हुनबाट रोक्नु पर्छ।
अहिले नेपाल विकासोन्मुख अवस्थामा छ। त्यसमा पनि चारैतिर भू–राजनीतिक प्रभाव बढ्दो छ। विश्व दुई ध्रुवबाट तीन ध्रुवमा लागिरहेको अवस्थाम नेपालले असल मित्र वा शक्ति केन्द्र पहिल्याउन त्यत्तिकै असहज छ। कमजोर अर्थतन्त्र भएकै कारण नेपालीहरूको मानसिकता मात्र गरिब होइन, देख्दा अति विपन्न, गरिब र मध्यमवर्गीय चरित्रका हुनु स्वाभाविक हो। जसले गर्दा पर–आश्रित र परनिर्भर मानसिकता, रूढीवादी सोच र ढुलमुले चरित्रका कारण नेपाली अर्थव्यवस्थाले उल्लेखनीय विकास गर्न सकेको छैन। नेपालको कुल भूभागमध्ये ७५—७९ प्रतिशत भूभाग हिमाल, पहाड र मध्य पहाडले ओगटेको छ। त्यो भूभागमा न्यून गुजरामुखी उत्पादन हुन्छ। भौगोलिक विकटता, दुर्गमता, अनुत्पादक भूभागको बढोत्तरी छ। अनुत्पादक क्षेत्रमा लगानी र बजेटको चरम दुरुपयोग छ। युगौं देखिको पछौटेपन, अशिक्षा, गरिबी, पिछडिएको चिन्तन, रूढीवादी समाज र विश्वसमा छ। पुस्तौंदेखि नेपाल राज्यको उच्च निकायहरूमा संस्थागत आर्थिक, राजनीतिक भ्रष्टाचार व्याप्त छ। वर्ग–वर्ग, क्षेत्र–क्षेत्र, भूगोल र जात–समुदायबीचको अविश्वास र विभेद कायमै छ। राजनीतिक दल, नेता र कार्यकर्ताहरूमा इमान्दारिता, नैतिकता, राजनीतिक संस्कार छैन। त्यसमा पनि आफैंद्वारा निर्मित संविधान, कानुन र नीति–नियममा प्रतिबद्ध देखिँदैन। जन–अनुमोदित गराइएको लोकतान्त्रिक गणतन्त्रप्रति स्वयं सञ्चालकहरू इमान्दारीपूर्वक अगाडि बढेका देखिँदैनन्। समाजमा राजनीतिक, आर्थिक र सामाजिक शोषण, विभेद र विसंगतिपूर्ण क्रियाकलापले नेपालमा आर्थिक विकासमा अवरोधहरू बनेका छन्। अहिले नेपालको अर्थतन्त्र २७ अर्ब ऋणात्मक छ। नेपाललाई लगानी गर्ने मुलुकहरूले ग्रे र ब्ल्याक लिस्टमा राख्दैछन्। त्यसबाट मुक्ति पाउन नेपाल र राष्ट्रका सञ्चालकहरू गम्भीर भएको पाइँदैन। अनि जनताको गरिबी, अशिक्षा र पर–आश्रित मानसिकताबाट राजनीतिज्ञहरूले समूहगत अर्थात् दलगत स्वार्थ लिइरहेका छन्। अभाव र गरिबीको फाइदा दलहरूले उठाउने गरेका छन्।
जहाँ गरिबी, रोग, भोग, अशिक्षा, शोषित, पीडित जनता बसोबास गर्दछन्, त्यस मुलुकमा कम्युनिष्ट विचार छिट्टै फस्टाउँछ। त्यस्ता मुलुकमा जसले गरिबी उन्मूलन र मुक्तिका नारा अगाडि बढाउँछ, ती मुलुकहरूमा कम्युनिष्टहरू छिट्टै नेतृत्व हातमा लिन सफल हुन्छन्। ती कम्युनिष्टहरू गरिबी र उत्पीडन मुक्तिका खोक्रा नारामा सत्ता वा सरकारको नेतृत्वका लागि आरोह–अवरोह गरिरहेका हुन्छन्। कम्युनिष्ट पार्टीहरूमा गरिबी हटाऊ र वर्गीय मुक्तिका नाराको दुरुपयोग भएको छ।
यस्तै विषयमा पार्टीहरूमा नेतृत्व लिनका लागि तछाड–मछाड्ले मतभेद भएर पार्टीहरू नै फुट्ने, टुट्ने र अनि जुट्ने भई रहेका छन्। नेपालको भूमिमा कम्युनिष्ट पार्टीहरूले माक्र्सवाद जस्तो वैज्ञानिक दर्शन २००६ सालदेखि अहिलेसम्म बाम कम्युनिष्ट दल र तिनका नेताहरू आरोप–प्रत्यारोप गर्ने, कोही राजापरस्त, कोही विदेशीपरस्त आदि कारणले बाम कम्युनिष्टहरू एक दर्जनभन्दा बढी चिराहरू भएका छन्। उनीहरूले माक्र्सवाद, लेनिनवाद, र माओवाद वा माओ विचारधारालाई हात्तीको देखाउने दाँत बनाएका छन्। यिनी सबै दलहरूको दीर्घकालीन (रणनीति) उद्देश्य गास, बास, कपास सहित सर्वहाराको मुक्ति र नेतृत्व रहेको छ।
राजनीतिक, आर्थिक र सामाजिक समानता र स्वतन्त्रताको वहस गर्ने यी दलहरू अहिले कार्यनीतिक सवालमा अल्झिएका छन्। विशेष गरी संसदीय व्यवस्था, त्यसैको सेवा, सुविधा र सत्तामा लिप्त भएपछि यी दलहरू यसबाट स्वयं मुक्त हुन नसक्नु, विश्व भूमण्डलीकृत अवस्था र पुँजीवादसँग सामना गर्न नसक्नु रहेको छ। त्यसको पनि बदलिदो परिस्थिति अनुसार द्वन्द्वात्मक भौतिकवादी प्रक्रियाको उपयोग गर्न नसकेर ती नेतृत्वहरू बढी आलोचित मात्र होइन, जनमानसबाट अपमानित भइरहेका छन्।
ती नेतृत्वहरूले माक्र्सवादको नाममा आदर्शवादको मात्र खेती गरेर नेतृत्व लिइराख्ने, पद, पैसा र सत्ताको लोभमा अल्झिने प्रवृत्ति दिन–प्रतिदिन बढिरहेको छ। सिद्धान्ततः विकसित वस्तुगत परिस्थिति, जनताको भावना, आवश्यकता र माग अनुरूप चल्नु पर्ने हो। बदलिदो परिस्थिति, विज्ञान एवम् प्रविधिको युगमा माक्र्सवादको भौतिकवादी द्वन्द्वात्मक वा सिद्धान्तको उपयोग गर्न नसक्नु नेपाली दलहरूको कमजोरी हुन थालेको छ। अहिले विशेष गरी कम्युनिष्ट दलहरूले वस्तुगत र आत्मगत परिस्थितिको विश्लेषण नगरी उपयोगितावादी बन्नुले यिनीहरू देश र जनताका लागि अभिशाप हुन् कि भन्ने भ्रम फैलिएको छ।
यो यथार्थ हो— यसको उपयोग देश, काल, परिस्थिति, जन–अपेक्षा र विकसित युगको माग अनुसार गर्नुपर्छ। परिस्थिति अनुसार यसको भौतिकवादी दृष्टिकोणलाई केन्द्रमा राखेर यसको परिमार्जन एवम् व्याख्या–विश्लेषण गर्ने विषयमा ढिलाइ गर्नु हुँदैन। यस्ता विषयमा माक्र्सवादका अनुयायीहरूबीच समस्या आएको छ। यसलाई समयमा चिर्फार गर्नुपर्छ। चिर्फारका नाममा यसको ऐतिहासिक द्वन्द्वको नियमलाई छोड्ने र यसको सारतत्व नै भुल्नु हुँदैन। देश, काल, परिस्थिति अनुरूप यसको उपयोग गर्नुपर्छ।
निश्चित रुपमा माक्र्सवादको नाममा पुराना दलहरूले गरेको बेइमानी, घुत्र्याइँ, पाखण्डी र अवसरवादी चरित्रले माक्र्सवादी दर्शनमा अविश्वास बढेको पक्कै हो। नेपालमा कम्युनिष्ट पार्टीहरू २००६ सालयता आफू रूढीवादी हुने, पार्टीलाई देवालय, नेतालाई मूर्ति बनाउने संस्कार, पार्टीलाई कमाई खाने भाँडोको रूपमा प्रयोग गर्ने, एकले अर्काको अस्तित्व अस्वीकार गर्ने वा नामेट गर्ने, विदेशीको योजना अनुसार प्रयोग हुने र कम्युनिष्ट सिद्धान्तलाई यान्त्रिक वा जडशुत्रीय ढङ्गले उपयोग गर्ने परम्परावादी सोचका कारण कम्युनिष्ट नेता तथा कार्यकर्ता २१औं शताब्दीको विकसित युगमा आलोचित भैरहनु स्वाभाविक नै हो।
यस्तै, दक्षिणपन्थी अवसरवादी र उग्र बामपन्थी अवसरवादी सोच र व्यवहारका कारण जनताको नजरमा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरू— कोही सामन्तवादका दलाल, कोही अमेरिकी तथा भारतीय विस्तारवाद, नव–उपनिवेशवाद एवम् साम्राज्यवादका नोकर भएको विषय नेपाली कम्युनिष्ट आन्दोलनमा उठिरहेको छ। नेता तथा पार्टीका नेतृत्व तहमा लागेका व्यक्तिहरूको यस्तै कार्य–व्यवहार र स्वार्थका कारण कम्युनिष्ट आन्दोलनले भए नभएका आरोप खप्नु परेको छ।
यो रोगबाट मुक्ति पाउनका लागि नेपाली जनता तथा कार्यकर्ताहरूले आफ्नै भित्र ठूलो अन्तरसंघर्ष चर्काउनु अति आवश्यक छ। जसले गर्दा यो दर्शनलाई २१औं शताब्दीको विकसित युग, विभिन्न लोकतान्त्रिक पद्धति, भूमण्डलीकृत परिस्थिति र जनताको माग एवम् आवश्यकता अनुसार उपयोग गर्न सहज हुन्छ।
बदलिदो परिस्थिति र जनअपेक्षा
बदलिदो परिस्थितिमा जनताको अपेक्षा, आवश्यकता र आकांक्षालाई बुझेर त्यहीअनुसारको नीति निर्माण र कार्यान्वयन गर्न नसक्नु कम्युनिष्ट आन्दोलनको अर्को ठूलो कमजोरी हो। विज्ञान, प्रविधि, सञ्चार र वैश्विक अर्थतन्त्रको तीव्र विकासले नयाँ चुनौती र अवसर दुवै ल्याएको छ, तर नेपाली कम्युनिष्ट नेतृत्वले यसको सही मूल्याङ्कन र उपयोग गर्न सकेको छैन। यसका कारण उनीहरू जनभावनाबाट टाढिँदै गएका छन्।
कम्युनिष्ट आन्दोलनमा आदर्शवादको खेती गर्ने तर व्यवहारमा अवसरवाद, गुटबन्दी र व्यक्तिगत स्वार्थमा लिप्त हुने प्रवृत्ति मौलाएको छ। जनतासँग प्रत्यक्ष सम्पर्क राख्ने, उनीहरूको समस्या बुझ्ने र समाधानका लागि कदम चाल्ने जिम्मेवारीको सट्टा, नेताहरूले पद, पैसा र सत्तामा आफ्नो ध्यान केन्द्रित गरेका छन्। यसले जनस्तरमा अविश्वास र निराशा बढाएको छ।
माक्र्सवादको प्रयोगको आवश्यकता
माक्र्सवाद केवल अतीतका पुस्तकमा सीमित रहने सिद्धान्त होइन; यसलाई बदलिदो समय र स्थानअनुसार परिमार्जन, व्याख्या र प्रयोग गर्न सक्नुपर्छ। यसको मूल सार— जनताको पक्षमा परिवर्तन ल्याउने—लाई जोगाएर नयाँ परिस्थितिमा ढाल्नु आवश्यक छ। तर नेपाली कम्युनिष्ट दलहरूमा यो लचिलोपन देखिएको छैन। पुराना नाराहरू दोहोर्याउँदै, व्यवहारमा यान्त्रिक र जडशुत्रीय ढङ्गले लाग्ने बानीले आन्दोलनलाई कमजोर बनाइरहेको छ।
आन्तरिक संघर्ष र आत्मसमीक्षा
कम्युनिष्ट आन्दोलनमा सुधार ल्याउन सबैभन्दा पहिलो आवश्यकता भनेको आन्तरिक संघर्षलाई चर्काउनु हो— बाह्य शत्रुसँग मात्र होइन, भित्रका अवसरवादी र भ्रष्ट प्रवृत्तिसँग पनि। नेताहरूको व्यक्तिगत स्वार्थ, गुटबन्दी, र विदेशी शक्तिप्रति आश्रित मानसिकताबाट मुक्त नभइकन आन्दोलनलाई जनतामैत्री बनाउने सपना पुरा हुन सक्दैन।
आत्मसमीक्षा केवल औपचारिक बैठकमा गरिने भाषण होइन; यो गहिरो, ईमानदार र व्यवहारमा झल्किने प्रक्रियाको रूपमा हुनुपर्छ। गलत निर्णय र कार्यशैली स्वीकार गर्ने, सुधारका ठोस कदम चाल्ने र जनताको विश्वास पुनः आर्जन गर्ने प्रयत्न जरुरी छ।
निष्कर्ष
नेपाली कम्युनिष्ट आन्दोलन अहिले ऐतिहासिक मोडमा छ— जहाँ पुराना गल्ती दोहोर्याउने कि नयाँ दृष्टिकोणसहित पुनः जनताको विश्वास जित्ने भन्ने दुई बाटामध्ये छनोट गर्नुपर्छ। माक्र्सवादको वैज्ञानिक दृष्टिकोणलाई बदलिदो परिस्थितिमा ढालेर, जनअपेक्षाअनुसार नीतिहरू बनाइए मात्र यो आन्दोलनले पुनर्जीवन पाउनेछ।
अवसरवादी चरित्र, भ्रष्टाचार, गुटबन्दी र विदेशी शक्तिप्रति निर्भरता त्याग्न सके मात्र कम्युनिष्ट आन्दोलनले आफ्नो मूल उद्देश्य— गरिबी उन्मूलन, सामाजिक न्याय र समानताको स्थापना—तर्फ अग्रसर हुन सक्छ। अन्यथा, यो केवल नारामात्रको राजनीति बनेर जनताको आँखामा अविश्वासको प्रतीक बन्नेछ।
