कोदोको उत्पादनमा प्रोत्साहन: जुम्लामा प्रथम राष्ट्रिय कोदो दिवस मनाइयो

- कर्णाली वेभ्स

राष्ट्रिय कोदो दिवस

रैथाने अन्न 'कोदो'लाई प्राथमिकता दिँदै उत्पादन वृद्धिको पहल – कृषि विकास कार्यालय जुम्लाको आयोजनामा राष्ट्रिय दिवस

रैथाने अन्नका रुपमा परिचित “कोदो”को उत्पादनमा वृद्धि गर्न हालै जुम्लामा पहिलो पटक राष्ट्रियस्तरमा कोदो दिवस मनाइएको छ। जुम्ला कृषि विकास कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय तथा राष्ट्रियस्तरमा कोदोको महत्व उजागर गरेको छ।कोदो दिवसको अवसरमा कोदो जन्य परिकार प्रदर्शन गर्दै, यसलाई खाद्य सुरक्षाको मेरुदण्डस्वस्थ जीवनशैलीको आधारका रुपमा चिनाउने प्रयास गरिएको थियो। दिवसले किसानहरूमा कोदो खेतीप्रति आकर्षण र उत्साह बढाउने अपेक्षा गरिएको छ।

जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार, जुम्लामा हाल २,७४० हेक्टर जमिनमा कोदो खेती भइरहेको छ भने अघिल्लो आर्थिक वर्षमा ३,८५० मेट्रिकटन कोदो उत्पादन भएको हो। उत्पादन वृद्धिको अनुपात १.१४ प्रतिशत रहेको छ।कोदोमा क्याल्सियम, फाइबर, आइरन र प्रोटिनजस्ता पोषक तत्त्वहरू पाइने भएकाले यो विशेषगरी सुत्केरी महिला, रगतको कमी भएका बिरामी र मधुमेह रोगीका लागि लाभदायक मानिन्छ।

कर्णाली प्रदेशमा मात्रै १४,५६३ हेक्टर जमिनमा कोदो खेती हुँदै आएको छ, जहाँ गत आर्थिक वर्षमा १६,३१० मेट्रिकटन उत्पादन भएको तथ्यांकले देखाउँछ। राष्ट्रियस्तरमा भने कुल २,२४,०३५ हेक्टर जमिनमा कोदो खेती भई ३,०७,०३२ मेट्रिकटन उत्पादन भएको छ। हाल कोदोबाट रक्सी, ब्रान्डी जस्ता पेय पदार्थदेखि विविध परिकार उत्पादन गर्ने प्रवृत्ति बढ्दो छ। सरकारले यदि रैथाने अन्न बालीहरूलाई केन्द्रमा राखी नीति तथा कार्यक्रममार्फत प्रोत्साहन गर्न सके, अर्गानिक उत्पादनलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्ने लक्ष्यमा टेवा पुग्ने विश्वास गरिएको छ।

कोदो दिवसको सफल आयोजनाले अबको दिनमा रैथाने बालीहरूको वैज्ञानिक संरक्षण र व्यावसायिक प्रवर्द्धनतर्फ मार्ग प्रसस्त गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *