-कर्णाली वेभ्स
पूर्वी पहाडी तथा तराईका जिल्लामा केही दिनदेखि परेको अविरल वर्षाका कारण कोशी ब्यारेज हुँदै बहने पानीको मात्रामा सोमबार बिहानदेखि उतारचढाव देखिएको छ।
सोमबार बिहान ६ बजे पानीको बहाव १ लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो। सोही बहाव राति ८ बजेसम्म स्थिर रह्यो भने राति १० बजेसम्ममा यो बढेर १ लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेन्ड पुगेको सशस्त्र प्रहरी बलका उपरीक्षक निर्मल थापाले जानकारी दिएका छन्।
बढ्दो बहावका कारण कोशी ब्यारेजका ५२ मूल ढोका र ४ वटा नहर ढोकामध्ये १९ वटा ढोका खोलिएको छ।
खतरा सतर्कता (Alert Message):
💡 कोशी नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिन्छ।
पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेसँगै खतरा संकेतस्वरूप रातो बत्ती बालिएको छ। नदी किनार क्षेत्र, तटीय बस्ती तथा तटबन्ध नजिकका नागरिकहरूले सावधानीपूर्वक सुरक्षित स्थानमा सर्ने, पशु चौपाया तथा महत्वपूर्ण सामान सुरक्षित राख्ने र सरकारी सूचना/निर्देशनको पालना गर्न सुरक्षा निकायहरूले अनुरोध गरेका छन्।
स्मरण रहोस्, २०६५ सालको भदौ २ गते कोशी नदीमा १ लाख ६८ हजार क्युसेक बहाव हुँदा पूर्वी तटबन्ध भत्किएको थियो, जसले ठूलो जनधनको क्षति निम्त्याएको थियो। हाल देखिएको बहाव त्योभन्दा बढी रहेकाले सावधानी नअपनाउँदा जोखिम थपिन सक्ने चेतावनी दिइएको छ।
