कर्णाली वेभ्स
कुवेतमा विषादीयुक्त मदिरा उत्पादन र बिक्री–वितरण गर्नेहरुलाई त्यहाँको सरकारले देश निकाला गर्ने र ज्यान मार्ने मुद्दा चलाउनेसम्मको तयारी गरेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समाचार स्रोतहरुले सार्वजनिक गरेका छन्। केही साता अघि विषाक्त मदिरा सेवन गरेर ३५ जना गम्भीर बिरामी भई कुवेतका विभिन्न अस्पतालमा भर्ना भएका थिए। उपचारका क्रममा १२ जना नेपालीसहित २३ जनाको मृत्यु भएको कुवेतस्थित दूतावास स्रोतलाई उद्धृत गर्दै नेपाली बीबीसी सेवाले समाचार बाहिर ल्याएको छ।
कुवेतमा मदिरा सेवन गर्न प्रतिबन्ध रहे पनि नेपाली, भारतीय र बङ्गलादेशी केही नागरिकले अवैध मदिरा उत्पादन गरी बिक्री गरेको अनुसन्धानपछि खुलेको त्यहाँका अधिकारीहरूले जनाएका छन्। अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरूले बताएअनुसार नेपाली, भारतीय र बङ्गलादेशी नागरिकहरू पक्राउ परेका छन्। प्रतिबन्धित मेथानोलयुक्त औषधि मिसाएर विषादी मदिरा उत्पादन र बिक्री गर्नेहरुलाई दोषी ठहर गरी देश निकाला गर्ने तथा ज्यान मार्ने मुद्दा दायर गर्ने तयारी भएको त्यहाँको सरकार–निकट सुरक्षा स्रोतले जानकारी दिएको छ।
कुवेतस्थित नेपाली श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार, विषाक्त मदिरा सेवनका कारण हालसम्म १२ जना नेपालीको मृत्यु भइसकेको छ भने ४० देखि ५० जना नेपाली विभिन्न अस्पतालमा उपचाररत छन्। उनीहरूको उपचारपछि अनुसन्धानका लागि निगरानीमा राखी सोधपुछ गरी दोष प्रमाणित भएमा कानुनी कारबाहीसहित देश निकाला गरिने भएको छ। श्रावण ३० गते नेपालका लागि कुवेतस्थित राजदूतावासले विज्ञप्ति जारी गर्दै ३५ नेपालीले विषादीयुक्त मदिरा सेवन गर्दा गम्भीर बिरामी भएको र तीमध्ये ९ जनाको मृत्यु भएको जनाएको थियो।
त्यसैबेला नेपाल परराष्ट्र मन्त्रालयले दूतावासलाई घटनाबारे यथार्थ विवरण पत्ता लगाई कार्य अघि बढाउन निर्देशन दिएको थियो। दूतावासले घटना भएको ३ दिनपछि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विषाक्त मदिरा सेवनका कारण ३५ जना गम्भीर बिरामी भई अस्पताल भर्ना गरिएकामध्ये हालसम्म ९ जनाको मृत्यु भएको जनाएको थियो । विज्ञप्तिमा उल्लेख भएअनुसार, केही दिन अघि विषादी मदिरा सेवन गरेपछि गम्भीर असर देखिएको र अस्पताल भर्ना गरिएकामध्ये धेरैजनाको अवस्था अझै चिन्ताजनक रहेको उल्लेख गरिएको छ।
